Home » » प्रस्ताव

प्रस्ताव

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Tuesday, July 28, 2015 | सम्प्रेषण समयः 10:21 PM


गीता थापा

समय अनुसार व्यक्तिले आफूलाई परिवर्तित गर्दै लगेन भने जीवनमा सधैं पछि परिन्छ बुझिस्। सपिङ मलमा प्रणिताकी छोरीलाई जन्मउत्सवको उपहार किन्दै गर्दा बसुदाले भनी। मैले बसुदाको कुरा सुनिरहें,बीना कुनै प्रतिक्रिया। उसका कुरा मननयोग्य लाग्यो। चुपचाप उसका कुरा मनमनै मनन गरिरहें।कसैको बिचार र भनाइ ठीक लागे चुपचाप अनुसरण गर्दा पुग्ने ठाउँमा विथ्थैमा कसले बहस गरिरहोस्। त्यसैले मैले पनि बहस गर्ने जाँगर देखाइनँ। हामी एक एकवटा उपहार किनेर सपिङ मलबाट बाहिर निस्क्यौं।

 र स्कुटी पार्क गरेको स्थानमा आयौं। मैले हातको उपहार स्कुटीको डिकीमा थन्क्याउदै भनें- ल! बसुदा म अहिले घरतिर लाग्छु। भोकले भुँडी पनि कुइकुइ कराइसक्यो।

 बसुदाले हातको घडितिर एक दृष्‍टि लगाउदै भनी-हिँड्न त भैयाको होटेलमा गएर एक एक प्लेट मोटरको छोला र दुई दुईवटा सिँगडा खाएर घरतिर लागुलाँ।

मैले नाक खुम्च्याउँदै भनें-होस् छोड्दे घरै जान्छु। होटेलको बासी खानाले पेट मात्र बिग्रिन्छ।दश रुपैयाको खानले एक हजारको औषधि उपचार सत्यानास।
बसुदा मेरा कुरा सुनेर एक छिन् त जोडैले हाँसी। वर्तिर पर्तिरका मान्छेहरूले पनि चाखदिएर हेरे।एकछिनमा बसुदाले आफ्नो छरिएको अवश्थालाई समेट्दै भनि-
उसो भए बिस्तारै जा । हाम्रो भेट अब साँझमा हुन्छ। म तयार भएर तलाई कल गर्छु। तँ पनि तयार भएर बसनी। त्यहा पढ्ने र घरको काम गर्ने सुरमा प्रणिताको छोरीको जन्म उत्सबको पार्टीको ख्याल तेरो दिमाखबाट हराउला नी।

हराउदैन बाबा!हराउदैन कति प्यारप्यार गर्न सकेकी यो केटी। बाइ सी यू। भरे भेटुला जस्ता अन्तिम वाक्य बोलेर हामी आआफ्नो स्कुटी स्टार्ट गरेर घरतिर लाग्यौं। सडकमा मोटरसाइकल,कार,जिप, बलेरो, पजेरो,माईक्रो  मिनीबस बिक्रम ट्याम्पु लाम लागेका छन्।धुवाँका काला मुश्ला फ्याक्दै। पेटीमा हिँड्ने पैदलयात्रुहरुको लश्कर छ। सास फेर्न एक मुठी शुद्ध वायुको समेत मुश्किल परेको छ। तनको पिँजडाबाट स्वतन्त्रपूर्वक बाहिरको खुल्ला सफ्फा शुद्ध बातावरणमा खेल्न नपाउदा सास पनि भित्रभित्रै निस्सासिन्छ। जताततै साना देखि ठूला सवारी साधानहरुका कालो धुवाँको साम्राज्य फैलिएको छ।बातावरण धुमिल छ बनेको। घाम उस्तै चर्केको छ। न सडक छ सग्लो। ठाम-ठामै खाल्डाखुल्डी उबडखाबडसँग साक्षात्कार गर्नुपर्छ।  पाइलै पिच्छे घच्याक घच्याक ब्रेक नहानी सुख पाइन्न। रैपनि मान्छेको मन त हो। सुख सुविधा र भोग विलासका साधनप्रति अत्यन्तै मोहित हुन्छ। भोक विलासका समानप्रति भौतिक मोह जागेपछि घर घडेरी बैंकमा  धितो राखेर पनि फोस्रो शान देखाउनैपर्छ।
फेरि त्येत्रा दु:खकष्ट झेलेर यात्रामा ट्राफिक जामको मज्जा उठाउन सकिएन भने स्कुटी कार बलेरो पजेरोमा चढ्नुको मज्जा खल्लो महसुस हुन्छ। जे होस् अनगिन्ती समस्यासँ'ग जुधेर निसासिँदै बल्लतल्ल म घर आइपुगें।

ढोका अगाडि उभेर राहतको लामो सास फेरें। अनि ताला खोलेर कोठाभित्र पसें। प्यासले घाँटी सुकेको थियो। हानिँदै गएर फ्रिजमा राखेको बोतलको चिसो पानी झिकें। खतत पारेर गिलासमा खन्याएँ र घटघट पारेर खाइसकेपछि आनन्दको महसुस गरें। कपडा बदलें। एक्ली मान्छे दिनुहु भात पकाइरहन अल्छी लाग्छ। एउटा वाइ वाइ उमालेर खाने सोच बनाएँ। ग्याँस पनि धिप-धिप मधुरो र रातो बल्यो। अस्ति भरेको ग्यास कति छिटो सिद्धिएको?ग्यासको भाउ भने बढेको बढ्यै छ। खपतको अवधि भने लम्बिनुको सट्टा झन् झन् छोटिँदै गएको छ। पहिला पहिला लगभग तीन देखि साढे तीन  महिनासम्म त सजिलै पुग्थ्यो एउटा सिलिन्डरले। हिजोआज त दुई महिना पनि मरितरी पुग्छ।

दुई-चार दिन जति भयो म दुविधामा फसेकी छु। बसुदा मेरी मिल्ने साथी हो। तर पनि यी कुरा उसलाई सुनाउन सकेकी छुइन। फेरि यी कुरा उसलाई नसुनाउनुको कारण अर्को पनि छ। उसको मनमा केही कुरा  अडिँदैनन्। एकैदिन खिस्स हाँसेर दुई चार बात मार्ने बित्तिकै उनिहरुसँ'ग पनि आफ्नो आन्द्राभुँडी फर्काइदिन्छे। मान्छेको बानीव्योहोरा के कस्तो छ?त्यो सँग उसलाई केही मतलवै हुन्न। मात्र ऊ सँग हाँसेर बोल्दिनुपर्छ। वस त्यति भए मैन झैं तुप तुप पिग्लिन्छे। मैले तेरो यो बानी सबै भन्दा खराब छ भनेर कयौं पटक सम्झाएँ उसलाई। मेरा कुरा एक कानले सुनेर अर्को कानले उडाइदिन्छे।

समय अनुसार आफूलाई परिवर्तित गर्दै नलादा पनि सधैभरी पुरानै युगकै जेलमा कति थुन्नु इच्छा आकांक्षा चहानाहरूलाई स्थास्थितिवादीको लेभल टाँसेर?के गर्ने नगर्ने?दिमाग सुन्य छ। विवेकले काम गरेको छैन।म प्रश्न उत्तरको प्रतियोगितामा रुमलिरहेकी थिएँ।

मोवाइल बज्यो। मोवाइल सेटलाई हातमा लिएर को रछ भनेर यसो नाम हेरें..रोहित रहेछ। हेल्लो!गर्ने बित्तिकै

 रोहित च्याठ्ठियो-कति समय लागेको तिमीलाई एउटा जावो मोवाइलको स्विच अन गरेरे बोल्न पनि दुई मनको भारी उचाल्नु परे जस्तो?
 कि मसँ'ग बोल्न मन छैन?कि मसँग अब अघायौ?कि नयाँ मान्छे पायौ?

 एकै चोटि तीन तीनवटा सवाल र यति धेरै शँका उसको भनाइले मेरो मगज रनन रन्कियो। हृदयको शान्त खल्बलियो। एक मन त रुखो आवाजमा तितो ओठे जवाफ दिऊँझैं लागेको थियो। तर आफूभित्रको आवेशलाई नियन्त्रण गरेर भनें-त्यसो होइन म पढ्दै थिएँ।

 अचेलभरि तिमी  खुव पढ्न्ते भा'कीछेऊ नि?कत्तिनी देशमा व्याप्त अशिक्षाको अन्धकार परिवेशलाई शिक्षाको झलमल्ल घाम झुल्काउने ठेग्गा उही एक्लीले लिएको जस्तो।

त्यसो होइन क्या।

कसो होत?
एक्लोपनको न्यास्रो मेटाउने साथी पुस्तक भन्दा अर्को केनै हुन्छ र?त्यसैले अचेल एक्लोपनको न्यास्रो र निरासा भगाउन अलि ज्यादै पढ्छु।

ए उसो भए म तिम्रो कोहि होइन?

 मैले त्यसो भनेर।तिमी अचेल सा-साना कुरामा पनि न्यु मात्रै खोज्छौ।

तिमी कुरै न्यु खोज्ने गरछेऊँ। मौन साँधेर बस्नै सक्तिनँ म।

उसैले शँकाको बातावरण साम्य बनाउदै भन्यो-ल यी कुरालाई यही छोड्दिऊँ। अरु नयाँ नौलो खबर के छ?

सबै ठीक छ।

तिम्रो के छ?

तिम्रो ठीक भएपछि मेरो बेठीक हुने कुरै भएन।

ए! हो त साँच्ची तिमी त मेरो भक्त हगी?

के थाहा नपाए जस्तो गरेकी नी?के मैले गरेको यति धरै मायाको महसुस तिमीलाई हुदैन?

हुन्छ,किन नहुनु।

अनि किन सवाल गरेको त?

तिम्रो मुखबाट सुन्न मन लागेर।

अनि सुनन भूमीका।

सुनिरहेकी छु भनन के भन्नु छ?

मैले अस्ति तिमीसँ'ग राखेको प्रस्ताव तिमीलाई कस्तो लाग्यो?त्यसको बिषयमा के निर्णय गर्यौ?

म माथि एक्कासी पहाड झरेको आभाष भयो। जवाफमा के भन्नु नभन्नु भयो। म अलमल्लमा परें।

 किन नबोलेकी?

बल्लतल्ल साहास बटुलेर भनें-केही समय चाहिन्छ मलाई निर्णय लिन।

तिमी पढेलेखेकी जागिरे आत्मानिर्भर केटी भएर पनि त्यत्रो शंकोच? समय कहाँबाट कहाँ पुगिसक्यो?तिमीलाई भने त्यति जावो सानो कुराको निर्णय लिन त्यत्रो गाह्रो। हामी सँ'गैका साथी मुकेश र रञ्जुलाई हेर त! उनिहरुले लिभिङ टुगेदरको आनन्द उठाएको छ महिना बितिसक्यो। तिमीलाई भने कत्रो हिच्किचाहट?हेर भूमीका एकअर्कालाई बुझ्ने यो भन्दा राम्रो अवसर अरु हुन सक्दैन।हामी आजको आधुनिक जमानाका मान्छे हौं। हिजो हाम्रा बाउ बाजे आमा काकी दिदी फुपूहरूले बिताएको जीवनको प्रभावमा परेर यो युगको अपमान गर्नु हुन्न बुझ्यौ।समयको सम्मान हामीले गर्न जान्यौं भने मात्र हाम्रो सम्मान समयले गर्छ।

मसँ'ग रोहितको शब्दलाई सुनिरहनु बाहेक अर्को विकल्प थिएन। रोहितको कुराले मलाई खुसी भन्दा पनि ज्यादा डर लागिरहेको थियो। हो मैले पढेंलेखें जागिर खाएँ। आफ्नो खुट्टामा उभिएँ भन्दैमा म भित्र आफ्ना आमाबाउको अर्ती उपदेश र आफ्नो रितिरिवाज संस्कार सँस्कृति र सामाजिकपरम्परा मूल्य मान्यतालाई  लत्याउने साहस थिएन। विदेशबाट भित्रिएको लिभिङ टुगेदरको हैजालाई सुझु न बुझुसँ'ग आफ्नो फूल जस्तो कोमल जीवनमा अपनाएर भोलि आफन्तीहरूको सामु मुखै देखाउन लाजमर्दो हुने कुरा गर्नु पनि त भएन।


 प्रेमलाई त हाम्रो धर्मसास्त्रहरूमा  ईश्वरको पूजा हो भनेर व्याख्या गरिएको छ। मेरा आमा बुवाको पनि प्रेम विवाह थियो। उहाँहरूले विवाहपूर्व परिवारको शिर झुक्ने। र समाजमा विकृति फैल्याउने कुनै पनि कर्म गर्नु भएन वैंशको आवेशमा। त्यसैले त आज उहाँहरू दुईको जोडी समजमा उदाहरणिय पात्रको रुपमा उभिएको छ। आफ्ना आमा बुवाको आदर्शले मोहित भएकी म। यो विवाह पूर्व शारारिक भोक मेटाउन निर्लज्ज भएर एउटै पलङमा परपुरुषसँ'ग महिना र रात बिताउनु भनेको मेरो सोच बाहिरको कुरा र सँस्कार विरुद्ध कर्म हो। आधुनिक युगको फाईदा उठाउने भनेर आफ्नो आत्मासम्मानमा काली पोत्नु राम्रो कुरा होइन। म यसलाई राम्रो मान्दिन। शायद मेरो सोच ढुङगे युगको लाग्न सक्छ। लागोस्। म मेरो कमजोरी स्वीकारछु। तर आफूलाई विचलनको शिकार हुन दिन्न। मैले रोहितका कुरा सुनें  सुनें र मोवाइलको स्विच अफ गरिदिएँ। मलाई रोहितको नियत बदलिएकोमा दु:ख लाग्यो। उसका कुराले दिक्क भएर डाँको छोडेर क्वा क्वा रुइदिम जस्तो लागेको थियो। तर मैले आफ्नो मनलाई आफैँ बुझाएँ। मनलाई त बुझाएँ। तर रोहितले मेरो पवित्र मायामा लिभिङ टुगेदरको कालो रंग पोत्न खोजेकोमा चिन्तित थिएँ म। चिन्तालाई भने काम गर्न सकिन मैले। मलाई रोहितको कुरा मञ्जुर थिएन। बरु ऊसँ'गको प्रेमलाई भुलिदिने सोचमा थिएँ म। आफूसँग सोच विचार मेल नखाने मायाको फेरो समातेर गन्तव्य पुग्न नसकिने कुरा ज्ञात थियो मलाई।


सोच मग्न थिएँ।बसुदाको फोन आयो-यैं भूमीका तयार भइस्?

किन तयार हुनु?

 ल यो कस्ती केटी होला बाबै। हन कतै तेरि दिमागको फ्युज उड्यो कि क्या हो?पगली कहिकी। प्रणिताको छोरीको जन्मऊत्सवमा नजाने?झन् बिहान उतिमाथि भनेको चाँडो तयार भएर बस भनेर। बाह्र वर्ष रामायण पढायो सीता कस्की जोइ भनेको पारा कहिल्यै छोडेकी होइन। म तयार भएर सडकमा निस्किसकें। तँ पनि झट्टै तयार भएर आइज। म कर्णे साहुजीको किराना पसल अगाडि हुन्छु। त्यति भनीराखेर बसुदाले मोवाइल बन्द गरी।

म भने आफ्नै उल्झनमा उल्झिएर प्रणिताकी छोरीको जन्मउत्सव भनेर पनि ख्याल रहेन। धन्न बसुदाले फोन गरी। चिन्ता ले चित्ता समान पीडा दिन्छ भन्थे हो रछ। रमाइलो गर्ने इच्छा पनि मरेर आएको छ । त्यसै त्यसै नौ-नाडी खत्रक्क गलेर आएका छन्। एक मनले त बसुदासित उपहार पठाइदिएर मलाई सञ्च छैन भनेर भनीदे भनुँ झैं भएको छ। तर फेरि बसुदा फतौरी कहाँ मान्ने खालकी केटी होर?कमकी जिद्धी छे। उसको जिद्धीको सामना गर्नु भन्दा राम्रो आफैं जाने विचार गरें। साडी लगाएँ।

फेरि बसुदाको फोन आयो। यैं भूमिका कति ढिलो गरेकी?चाँडो आइजन यार। बेहुली झैं सिँगारिँरहनु पर्दैन त।
आएँ!आएँ मोवाइल राख।

हतार हतार भर्याङ् ओर्लिएर कर्णे साहुजीको किराना पसलमा पुगें।बसुदा मुख फुलाएर मलाई कुरिरहेकी थी। म पनि मनको पीडालाई छातीमा दवाएर केही नभएको झैँ हाँस्दै सोधें-बसु म यो सारीमा कस्ती देखिएकी छु?
झक्कास देखिएकी छस्। आज प्रणिताकी छोरीको जन्मउत्सवको पार्टीमा कतिजना पुक्लुक पुक्लुक ढाल्न हुन्।

भो भो धेरै गफ नदे। मलाई देखेर चाहीँ होइन। तँलाई देखेर चाहीं ढल्न बेर छैन।
 धेरै व्यङ्ग्यको तीर नछोडी राख हिँड। तेरो जस्तो ढिला सुस्तीले पार्टी सकिएपछि मात्रै पुगिन्छ।
जन्मउत्सवको पार्टी रात ढल्केपछि मात्रै सुरु हुन्छ।

बसुदाले सडक छेउमा उभिएर हात हल्लाएर ट्याक्सी रोकी। मलाई छिटो आइज भनेर ऊ ट्याक्सी भित्र पसी। म पनि साडीको मुजा समेट्दै ट्याक्सी भित्र पसें। हप्प गर्मी भएको महसुस भयो। झ्याल उघारेर चिसो हावा तानेर शितल महसुस गरें। अनि सडक छेउछाउका पसलहरुतिर नजर घुमाएँ। ट्याक्सी कालपत्रे सडकमाथि तिव्ररुपले गुड्न थाल्यो। झ्याल बाहिरका दृष्‍यहरू तँछाड-मँछाड गर्दै एक पछि अर्को फेरिँन थाले। तर मेरो मनभित्रको चिन्ता भने जस्ताको तस्तै थियो।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment