किशमा किशोर
पिपलडाँडा,१ सिन्धुपाल्चोक
पिपलडाँडा,१ सिन्धुपाल्चोक
शान्तिप्रिया ओच्छ्यानमा पल्टेर किताब पढीरहेकी छे । उसको घर नजिकैको राजमार्गमा एक जमात रातो झण्डा बोकेका मान्छेहरु शान्त वातावरणलाई कोलाहल बनाई राज्य विरुद्ध आक्रोस पोख्दै नारा लगाउदै आन्दोलनमा उत्रेका छन् । राज्यको तर्फबाट पनि उक्त आन्दोलन विफल तुल्याउन आन्दोलन भएको स्थानमा प्रतिकारको लागी सडकभरी प्रसस्त सुरक्षाकर्मीहरु तैनाथ गरीएकोले बेला बेलामा दुई पक्ष बिच एक अर्कामाथी रोष प्रकट गर्दै आन्दोलनरत जनताहरुबाट ढुगां, ईट्टा र सुरक्षाकर्मीहरुबाट अश्रुग्याँस तथा गोलीको समेत वर्षा भएकोले भयावह स्थितीको सिर्जना भएको छ । बाहिरका गोलीका आवाजहरु शान्तिप्रियाको कानमा बेला बेलामा ठोक्किए पनि किताबबाट उसको आँखा एकरत्ति पनि हट्दैन । उसका घरका सबै सदस्यहरु आन्दोलनमा होमिएका छन् तर उसलाई भने एक मनमा त्यहाँ जाने ईच्छा पटक्कै छैन । उसलाई मान्छेका हुल प्रति नै वितृण्णा भएपनि कता कता अर्को मनमा उसलाई जाँउ की जस्तो नलागेको भने होईन । जिन्दाबाद र मुर्दावाद सगँै बेला बेलामा मान्छेका चित्कार, रोदन अनि कहिले काँही विजय जस्तै लाग्ने र शान्त मनलाई विथोल्ने उल्लासमय हाँसोले गर्दा उसलाई एकचोटी झ्यालबाटै भएपनि बाहिरको माहौल हेर्ने ईच्छा जाग्छ । पढ्ने कामलाई थाँती राखेर ऊ कोठा भित्रै रुमलिईरहेको नजरले बाहिरको तमासा हेर्न थाल्छे ।
त्यस्तै विहानको १० बजेको हुदो हो । चैत, बैसाखको समय, सूर्यका किरणहरुले विस्तारै विस्तारै आफ्नो शक्ती प्रदर्शन गर्दै रश्मिहरु रापिलो बनाउदै छन् । सडकमा बालेका टायरका काला धुवाँका मुस्लोहरु विभिन्न आकृती वनी आकाश तिर मडारिदै गएको शान्तिप्रियालाई खुब रमाईलो लाग्छ । सडकमा नारी पुरुष, बालक वृद्ध, सवै सुरक्षाकर्मीहरुलाई वैरी सम्झदै ढुगाँ ईट्टा बर्षाउन तत्पर देखिन्छन् । अश्रुग्याँसको पिरो धुवाँले शान्तिप्रियालाई केही असर गर्छ । सडकमा चहलपहल निकै छ । उसले आन्दोलनरत जनताहरुमा झन् झन् उत्साह बढीरहेको आभाष पाँउछे । साँच्चै भन्नुपर्दा सडकको रौनकले उसलाई पनि आकर्षित गर्दैछ । राज्यद्धारा परिचालित सुरक्षाकर्मीहरु र सर्वसाधारण जनताबिचको मुठभेड ऊ आफ्नै घरको पाँचौ तल्लाबाट नतमस्तक हेरिरहेकी छे । सडकको माहौलले उसलाई पनि रोमाञ्चित र उत्साहित बनाएकोले संयौ को भिडहरुमाझ आफ्नो हात पनि जिन्दावाद सँगै उठाउने रहर पलाएर आँउछ । मनभित्र उकुसमुकुस भएर बसेका राज्यप्रतिका कंयौ रिसहरु उ अब त्यही सडकमा संयौको भिडहरुमाझ छताछुल्ल पारेर पोख्ने विचार गर्छे ।
मध्य ग्रिष्मको प्रचण्ड लप्को, टायरका काला धुवाँहरु सँगै समिश्रण भएर उडिरहेका खैरा धुलाहरु, आकाशमा घामले रन्थनिएर कराउदै उडिरहेका काला कागका बथान, टाढाको दृष्य नियाल्दा हेर्दा हेर्दै विरक्त लाग्ने खुईलिएको डाँडो, दिक्क लाग्दो समय, त्रासयुक्त परिस्थिती, कोलाहल वातावरण विच लाखौको संख्यामा सडकभरी उर्लेका जनसागर, चर्कदो आन्दोलनमा ढुगाँ ईट्टा प्रहार गर्दै चिच्याईरहेका आवाज, दुई पक्षबिच हेर्दै डरलाग्दो मुठभेड अनी सुरक्षाकर्मीहरु द्धारा ढुगाँ ईट्टा को जवाफी स्वरुप अश्रुग्याँस तथा गोली फायरहरु निरन्तर बर्षाइएको हुनाले हुलमुल बिचको क्रन्दन र अत्यासलाग्दो चित्कारहरु सबै एक नजरमै घुट्को पिएर शान्तिप्रिया राज्यद्धारा परिचालित सुरक्षाकर्मीहरु प्रती मुर्मरिदै मनमनै रोष प्रकट गर्दै आफुपनी सडकमा होमिने मनशायले कम्मरमा पटुकी बाँधी जाँदा जाँदै पानी लानुपर्ने आफ्नो कर्तब्य ठानी एक जर्किन पानी बोकेर ऊ जीवन आहुती दिनु परे पनि पछी नहट्ने मनमनै प्रण गरी एकैचोटी घर को मुलद्धारमा अडेस लाग्न पुगी ।
सडकको रणभूमिमा ढुगाँ ईट्टामा सल्बलाईरहेका संयौ हातहरु ढुगाँ ईट्टा प्रहार गर्नमै तल्लिन देखिन्थे । एउटा ईट्टा प्रहार गर्नुमा नै उनीहरुले विजयको संकेत पाएको प्रतित यस माहौलले प्रष्टै देखाउथ्यो । घरको मुलद्धारमा ठिङ्ग उभिएर शान्तिप्रिया टोलाई । कति जोशिला, कति उत्साहित, यिनीहरुको ईच्छा, चाहना के राज्यले पुरा गरिदेला त ? आखिर के को लागी लड्दैछन् ? के धनी, के गरीब, नारी पुरुष, बालक बृद्ध, सबै जातजातीका, सबै धर्मका, हो मा हो मिलाईरहेका छन् । ऊ ति मान्छेहरु सँग को सादृश्यतामा आफुलाई साह्रै फितलो महसुस गर्छे । यस्तैमा अचानक एउटा बालकको कडा स्पर्शले उसलाई झस्काईदिन्छ । आकाशमा कालो बादल मडारिन शुरु भईसकेको थियो । मेघ गर्जनले मुसलधारे बर्षातको सम्भावना देखाउदै थियो । उसले बालकलाई नियाली । त्यस्तै ८÷१० बर्षको, एउटा खुट्टामा मात्र चप्पल, शिर देखी पाउ सम्म पुरै कालो, त्यो टायरको धुलो होला भन्ने शान्तिप्रियाको ठम्माई थियो । टाउकोमा रातो कपडा बाँधेको, हतारिएको, उसको अनुहारमा सन्त्रासका घेराभित्र छरिएका काला रेखाहरु प्रष्टै पढ्न सकिन्थ्यो । दिदी.......बालकको मुखबाट निस्किएको मधुरो बोलीले ऊ फेरी झस्की । शान्तिप्रिया हातको पानी देखाउदै डराई डराई बोली “बाबु पानी खाने हो ।” बालकले ठाडै भन्यो “हैन, उ त्यताबाट बन्दुक बोकेका मान्छेहरु मलाई लखेट्दै आउदैछन् म लुक्न आएको,मलाई लुकाउनु न दिदी ।” बालकको अनुरोधले उसलाई विह्वल बनायो । उसलाई उक्त बालकप्रति एकैचोटी दया र माया पलाएर आयो । बालकको बोलाई शैलीमा आफ्नो जीवन प्रतिको माया झल्केको थियो भने साथमा उसलाई आफ्नो मृत्युको सम्भावना दुखेको आभाष शान्तिप्रियाले पाई । उसले बालकलाई लुक्न भनेर भित्र पठाई आफु चाँही सडकमा उत्रने सुर कसी । सडकमा द्धन्द चर्कीरहेको थियो । सबै उत्तेजनाको चरम बिन्दुमा पुगेका देखिन्थे । शान्तिप्रियाले घरको मुलद्धारबाट पहिलो कदम चाल्दै गर्दा एक्कासी राज्यद्धारा परिचालित सुरक्षाकर्मीहरु द्धारा प्रहार गरेको गोली उसको छातीमा लाग्यो । ऊ जमीनमा ढली । हातको पानी पोखिएर बाटाभरी भयो । ऊ छट्पटाईरही । दर्जनौं पटक पानी पानी भनेर कराई । एकछिन पछी मान्छेहरु उसको वरीपरी जम्मा भए । उसको अन्तिम श्वास गईसकेको भएपनि आत्मा भने राज्य विरुद्ध लड्न सडकको रणभूमिमा गयो । केही आशामा मान्छेहरुले उसको नाडी छामे, ढुकढुकी छामे । सबै बन्द भए पनि शान्तिप्रियाका दुवै आँखा भने एकोहोरो टोलाईरहेका देखिन्थे...............।
‘समाप्त’


0 comments:
Post a Comment