Home » » कुन बर्लिनको घुम ओढेर तिमी आफ्नो रक्षा गर्छौ ?

कुन बर्लिनको घुम ओढेर तिमी आफ्नो रक्षा गर्छौ ?

सम्प्रेषकः Ram Gurung | सम्प्रेषण मितिः Sunday, July 5, 2015 | सम्प्रेषण समयः 2:06 PM

देविनबाबु राई
तिमिले कैयौ पटक -
आफुलाई सुरक्षित सम्झेको फेस्बुकको चेप बाट
अनन्त अश्लिलहरुले
मेरो पहिचानलाई गाली गरेको सुनेँ
मेरो निरुपम कृतिगाथाहरुलाई
तिमीले -
असङ्ख्य अपशकुन बोलेको सुनेँ
मलाई थ्याप्चे भन्यौ,
पुड्के भन्यौ,
भिल्लर भन्यौ
मैले टुलु टुलु हेरिरहेँ आफु उपरको विभत्स खिसिट्युरीहरु !

**

तिमीले बिर्स्यौ ?
अनुहार छोपेका कार्तुसवालाहरुले तिमीलाई
लामो नाल भएका बन्दुकले निशाना लगाउँदा
म तिम्रो अघी उभिएको ?
मैले तिमीलाई मृत्‍युको बधशाला बाट
आफुलाई बन्धक राखेर
जमानतमा छुटाएको छु ।

**

तिमी चाहन्छौ,
पहिचानका पगरी ओढ्नेहरुलाई
आफ्नो पाखा खन्ने कमारो बनाउँ,
र जूनफूल र शिरबन्दी ओढ्ने
प्रत्यक चारुहासिनिहरु,
आफ्नो प्राइभेट पाइखानामा कट्टु खोलिदिने
पण्ययोषित बनोस !

**

तिमी -
मेरो हरेक शुभकामनाहरुलाई शङ्का गर्छौ,
तिमी -
गल्ती बुझिदिन्छौ मेरो सरस प्रबोधन
तिमी जटिलताले छुन्छौ मेरो कोमल ईन्द्रिय
हरेक समय दुष्ट्याईँको अभ्याशमा हुन्छौ तिमी ।
सुगम संवादले बिषम आक्षेपण गर्छौ,

**

र पनि -
म सम्झाईरहन्छु,
हाम्रो सङ्कल्प विभाजनको हैन
हाम्रो लक्ष्य विदिर्णताको हैन,
हामी विभाजक हैनौ
यो त सामान्य चेत क्रान्ति मात्र हो
आफ्नै देशमा अनागरिक हुन लागेकाहरुको ।

**

हो नि,
हामी हाम्रै आकाश सित उदाएका छौँ,
हामी हाम्रै धर्ति माथी फक्रिएका छौँ
हामी हामी बाटै शुरु भएका छौँ
केवल -
अभ्यस्त जारहरु द्धारा विलयन तिर लगिएको
हाम्रो पुर्ख्याली ईतिहास नपाईञ्जेल सम्म हो ।

**

सम्भवत :
सम्झौताले नभए
केही हद सम्म बन्दुकहरु पड्कन सक्छन,
वादल बाट पानीहरु रुपान्तरण भई
धमाधम छर्राहरु खस्न सक्छन,
त्यतिखेर म भन्न सक्दिन कि
तिम्रा ईमारती शहरहरु पनि ध्वस्त हुन सक्छन,
किनकी त्यतिखेर -
हरेक आदिवासिहरु, आवालव्रिद्ध आवालवानिता सहित
औजार भिरेर
आफ्नै अस्तित्वका अभियन्ता बन्न
उत्सुक देखिएका हुन सक्नेछन,

**

तसर्थ -
तिमी मेरो एक कान्ला अस्तित्वको विरोधाभाष नलेऊ,
मेरो एक ढिस्को अधिकारमा शङ्का नगर
म अल्मलिएको भञ्याङमा
फेरी एउटा ठाँटी बनाउनु छ चोमोलोङमा भन्दा अग्लो
जहाँँ सम्म पुग्नु पर्ने गन्तब्यहरुको र
मेरो आलोकित बर्तमानको नविन शहरहरुको
पुनरागमन गर्नु छ ।

**

हुँदै हुन्न भने -
मेरा ईन्द्रिय तिम्रा भ्रम तोड्न सक्छन
मेरा अरिमर्दनहरु
जो चट्याङ जस्तै गर्जँदैनन
बर्षन्छन तेजाब जस्तै,
तब -
कुन बर्लिनको घुम ओढेर तिमी आफ्नो रक्षा गर्छौ ?

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment