
थारु भेशभुषा र खानपिनबाट थोरबहुत सानैमा परीचितनै थिएँ। मेरा पिताले विजयपुर छोड्ने निर्णय लिनु भयो। र छोड्नु पनि भयो। विजयपुर छोडेर कराइबन भन्ने ठाउँमा थारुनै थारुको घना बस्तीमा ल्याएर हामीलाई थन्क्याउनु भयो। आमा बुवालाई कते जाइछी रकाथि खाइछी थारु रहन सहनमा भिज्न समय लाग्यो। तर हामी केटाकेटीहरुलाई त्यो परीबेशमा भिज्न कति पनि समय लागेन। पोखरीमा पौडी खेल्नेदेखी खेतमा हिले माछा मार्ने गंगटा समात्ने,घुङगी टिप्ने हातमा नाम लेखाउने सबै कुरामा निपूर्ण भईयो। तर हाम्रो कराइबनको बसाइ छोटो भयो। केही समयमै हामी कराइबन छोडेर तरहरामा बस्न आयौँ।
बुवा बित्नु भयो। तर अहिलेसम्म आमा र भाई बुहारीहरुको बसाइ तरहरामै छ। मेरा परिवारलाई तरहरा जस्तो सुन्दर र रमणिय ठाउँ अन्त कतै लाग्दैन। किनकी हाम्रो परिवारले धेरै हिउद बर्षा त्यो तरहरामा बिताएको छ। दु:ख सुख त्यही भोगेको छ। र पुरानो मान्छेको रुपमा स्थापित भएको छ। मेरो परिवारको जीवनभरको कमाइ इस्टमित्र सबै त्यही छन्।
म इजरायलबाट फर्किएपछि इटहरीमा एउटा घर बनाउने सोच बनाएँ। सोच अनुरुप काम पनि थालें। एक बर्षको मिस्त्री खटाइपछि घर पनि बन्यो। सरस्वती पूजाको साहित निकालेर घर पैचो पनि गरियो। लेख्ने पढ्ने काम भने त्यसबेलासम्म थन्किएकै थियो। घर बनाइको थकाईले जता बस्यो उतै पल्टिन मन लाग्थ्यो।
एका दुई सौराहका साथीभाइले सौराह घुम्न आउनु नभनेको होइनन्। तर समय मिलाउन सकेकी थिईनँ। शरीर अल्छे जस्तो भएर कतै चल्न चट्पटाउन मन लागेको होइन। कतै पढेको अथवा भनेको सुनेको घले गाउँको होम स्टे पछिको होम स्टे नवलपरासी अमलटारीको हो। थारु नाँचगान खानपिन बस्न घुम्न हात्तीमा चढेर गैंडा हेर्न पाइने, सबै कुराको राम्रो व्यवस्था छ। त्यो ठाउँ हेर्न मन लोभिएको थियो। त्यहाँ पुग्ने समय नमिलेको कारणले चुपचाप थिएँ।
तर हाम्रो एकजना अाफन्तिको घर उतै परेको हुनाले जाने चाँजोपाजो मिलाएँ। र दुइचार जोर फेरफार गर्ने कपडा झोलामा कोचेर बसको टिकट किनेर हिंडें। पुगेको दिन अाफन्तिको घरमा बसेर भोलिपल्ट २०७२साल जेठ २३गते गैंडाकोट हुँदै पुगें अमलटारीको थारु होम स्टे हेर्न। तर भुकम्पको कारणले पहिलाको जस्तो पर्यटकको आवतजावतमा कमी भएको रहेछ। नजिकैका युवा युवतिहरु एक दिन भए पनि रमाइलो गर्नका लागि आउने क्रम जारिनै थियो। माटोको लिउन लगाएर खरले छाएको घर। बोटेहरुले एकाबिहानै नारायणी नदी पुगेर जाल थापेर मारेर ल्याएका ताजा माछा। हाँस कुखुराको भुटुवा! घरभित्रै चर्पी नुहाउने घर। डब्बल बेड भएको कोठालाई मात्र पाँचसय।
पर्यटकको आवतजावतमा कमि भएका कारणले एकजनाले हात्ती चढेर गैंडा हेरेको पाँचहजार!
मैले सोधें यो हात्ती चढ्ने दाम धेरै भएन भाई?
होइन दिदी एउटा हात्तीमा चारजना चढ्दा एकजना बराबर पन्ध्रसय पर्छ। तर के गर्नु तपाईं एकजनाको लागि महंगो हुनु स्वभाविक हो।
यसो सोचें जीवनमा दु:ख गरेको केका लागि?
पैसा मुठ्याएर हात्ती चढ्ने रहर पुरा हुने होइन। फेरी आजको समय भोली फर्केर आउने पनि होइन। जेसुकै होस्। भने भाई हात्ती बोलाउनु। हात्ती आयो मेरो मुटु डरले ढक्क फुल्यो। तर माउते साथैमा थियो। मेरो डर थोरै कम भयो। हात्तीले आफ्नो पिठ थापिदियो। माउतेले चढ्ने अनुमति दियो।
म हात्ती माथि चढेर नबलपरासी अमलटारीको वन घुम्न निस्किएँ। एक घण्टा समय अवधीभरी बन घुम्दा मयूर,हरिण भन्दा केही देख्न पाईेएन। पाँचहजार तिरेको गैंडा हेर्न तर गैंडाकै दर्शन मिलेन।मन खिन्न बनाउदै होम स्टे फर्किएँ।
होम स्टेको भाईले सोध्यो-दिदी गैंडा देख्नु भयो?
अहँ देखिन!
ठिकै छ म भरे तपाईंलाई पैदल लगेर घुमाइदिउला। जङगलको चउरीमा चर्न आउछ। मनको खिन्नताको बादल उसका कुराले फाट्यो। साँझ साँझमा घाम पहेंला भएपछि पैदल जङगलतिर लागियो।
नभन्दै गैंडा चरिरहेको अवस्थामा देख्न पाउदा मन खुशीले प्रफुल्ल बन्यो। तीन दिनको होम स्टे बसाइमा बिहान बेलुका पैदल गएर बाघ, हरिण, मयूर,गैडा अघाउन्जेल हेरेर घर फर्किएँ।
हिंड्नेबेला होम स्टेको भाईले भन्यो-दिदी तपाईं भाग्यमानी हुनुहुदो रै'छ।
किन भाई?
किनकी गैंडा मात्रै होइन बाघ पनि हेर्न पाउनु भो।
उसका कुरा सुनेर म मुसुक्क मुस्कुराएँ।
उसले पनि उसैगरी मुस्कुराएर भन्यो- दिदी फेरी फेरी पनि आउनु होला है।
हुन्छ। मैले टाउको हल्लाएर झोला बोकेर बाटो लागेँ।
गीता थापा-इटहरी
0 comments:
Post a Comment