आँखै नउघारी एकहप्ता झरीपछि बल्ल छ्याङ्ग दिन उघ्रियो । पारिलो घाम लागेको मौका छोपेर रायो, मुला, तोरीका दाना र सानो कुटो बोकेर डम्बरी कोठेबारीतिर पसी । सर्वप्रथम उसका आँखा भुइँमा सोत्तर भएका बारका घोचामाथि ठोक्किए । उसलाई कहीं नभएको रिस उठ्यो । मथिंगलको पारो सय डिग्रीको वेग
![]() |
गीता थापा ‘दोषी’ |
लोग्नेले सालीका घरदेखि ल्याएर रोपेको थियो त्यो । दुई बर्ष भयो त्यसमा फल लाग्न थालेको । केटाकेटीहरू बारमाथि चढेर फल टिप्न हारालुछ गर्थे । रुखमा फूल खेलेर चिचिला लाग्दादेखिनै गोठालो लाग्नुपर्थ्यो । कयौं पल्ट यो रुख काटेर मिल्काउँ भनेर लोग्नेसँग जिकिर गरि उसले । तर लोग्ने भने उसको सल्लाहलाई एक कानले सुनेर अर्को कानले उडाइदिन्थ्यो ।
रुखकै कारणले कोठेबारीका फलफूल र सागपात जोगाउन मुश्किल पर्थ्यो । दिमागबाट रिसको भूत नओर्लिउँञ्जेलसम्म गोमन सर्पले झैं नाकका पोरा फुलाएर रुखलाई कुटोले ठोकीरहि उसले । एबंरितले दुई चार पल्ट ठोकीसकेपछि भने रिस केहीं मत्थर भयो । कुटो भुइँमा फ्यालेर लडेका घोचा समेटेर डोब भरी । केही शितल महसुस गरि । रपनि बेला बेलामा मनको कुनामा काँचो पिँडालुले झैं कोक्याइरहेको थियो उसलाई । त्यहि सुरमा भकाभक कोठेबारी खन्न व्यस्त भई ।
'के गर्दैछस् है केटी ? भात पाकेको भए ले खाउँ' भन्दै लोग्ने टुप्लुकियो । उसलाई देख्ने बित्तिकै मनभित्र दबिएको रिसको पारो मथिगलमा चढ्यो । उ एक्कासी चिच्याइ -
'तिम्रा हात भाँच्चिएका छैनन् होला त । पाकेको भात थालमा थुपारेर भाकाभका हसुर्न सक्दैनौ ? खाली यसो गर डम्बरी उसो गर डम्बरी । म नभै तिम्रो श्वास पनि चल्दैन । मलाई हनमेर्नु ठानेका छौ की कसो ? '
उ अझै चर्किरहि 'सभा समारोहमा भने नेताले घरको कामकाजमा नारीको जत्तिकै पुरुषको पनि भूमिका हुन्छ भनेर भाषण गरेको रेडिया र टेलिभिजनले फुक्याफुक्यै गर्छन् । यता आफूलाई मर्द भनेर फाइँफुट्टी हाँक्ने तिमेरु जस्ता पुरुषका जात भने वरको सिन्को पर सार्ने होइनौ ।'
स्वास्नी एक्कासी मेघ झैं गर्जेको देखेर उ 'बक्क' लाटो बनेर टोलायो । के कारणले यस्तो रिस उठ्यो मेलोमेसो पाएन । मनमनै गम्यो- 'यसबेला रिस उठ्नुको कारण खोतल्नु ठीक छैन ।' कुनै प्रतिप्रश्न नगरिकन निन्याउरो अनुहार लाएर पिँडीमा ओछ्याइरहेको शुकुलमा थ्याच्च बस्यो उ । उसले 'एउटा आगो भएकोबेला अर्को पानी हुनुपर्छ' भन्ने कुराको ज्ञात गर्यो । उसको पेशा भने भैंसी खरिद गरेर दुईचार हजार नाफा खाएर बिक्री गर्ने थियो ।
बिहानको नौ बज्यो । बाटोमा फाट्फुट पोशाक लगाएका केटाकेटीहरू स्कूलतिर लम्किँदै छन् । उसले झट्ट छोरा छोरी सम्झिंदै कोठाभित्र छिर्यो। तिनीहरू पढिरहेका थिए । उसले स्कूल हिँड्नेबेला भएको जानकारी गरायो । बाउको वचन शिरोधार्य गरेर उनीहरु तयारीमा जुटे ।
आमापनि कोठेबारीबाट निक्लिएर कराउन थाली । हात खुट्टाका हिलो मैलो धोइपखाली घरभित्र पसी । आज ज्यादा कचकच नगरि छोराछोरी तयार भएको देखेर उ उत्फुल्ल भै । उसको हुस्सु लागेको अनुहार पनि छ्याङ्ङ उघ्रियो ।
नजिकै उभिएको लोग्नेले छड्के नजर लगाउँदै उसलाई पुलुक्क नियाल्यो । स्वास्नीको हँसिलो मुहार देखेर उसको निन्याउरो अनुहारमा पनि खुसीको आभा तैरियो । प्रफुल्ल भएर खिल्खिलायो उसको मन । केहीछिन अघिको गह्रुंगोपना कतै बिसाए झैं हल्का महसुस गर्यो उसले । बाले भनेका शब्द सम्झियो 'हेर छोरा आइमाई भनेको घरकी लक्ष्मी हो । उ रिसाइ भने बनेको काम पनि बिग्रिन्छ । '
बा'का ती कुरा यथार्थ र सत्य लाग्थे । कयौं पल्ट स्वास्नीको जून जस्तो उज्यालो मुहार औंशीको काली ग्रहणले ढाकेको देख्दा देख्दै उ संघार नाघेर बाहिरिँको अवस्था भोगेको छ उसले । आँटेको काम अधुरै छाडेर आउनु परेको अनुभव छ उसँग ।
लामो समय देखि घाँस कुँडो खुवाएर पालेको भैंसी किन्ने ग्राहक आउँछ भन्ने कुराको जानकारी एकछिन अघि उसको साथी रामकुमारले दिएको थियो । उसले मनमनै पुकार्यो 'हे ईश्वर आज त्यो भैंसी जसरी पनि बिकोस ।'
हिँड्ने बेलामा स्वास्नीको मुहारमा आँखा गाडेर हेर्यो उसले । उ घोसे मुन्टो लाएर जुठो लोटाउँदै थिई । 'ल म हिँडें' कुममा कोट्याएर सुनायो । उ अक्मकाए झैं गरि 'अँ ! साँच्ची आज कान्छी नानी आउँने रे । यसो मीठो मसिनो खुवाउँ भन्नु एक छाक मासु नै त हो । साँझमा घर फिर्दा लिएर आउँनु होला नी !'
'ल ! एकफेर मुसुक्क हाँस्देन त अब' बुढीलाई जिस्काउन खोज्यो ।
'हन यो बुढेसकालमा पनि के को मुस्कान दिनुपर्ने हो ?' सिस्नो झैं जरक्क जर्की उ ।
'जोइपोइ हाँस्नलाई पनि के को उमेरको कुरा हो भन्या ?'
'छिटो हाँस्देन, ह्याँ आफूलाई हिँड्न अबेला भयो । आज त्यो थारो भैंसी बिक्ला जस्तो छ ।'
'ए कुरा त्यसो पो ?' बल्ल मुसुक्क गरि उ । भित्तोमा झुन्डिएको इस्टकोट भिरेर गह्रुंगो आसा बोक्दै उ बाहिरियो ।
नभन्दै ग्रहाक उसैको प्रतिक्षामा थियो । उ पुग्नासाथ मोलतोलको कुरा भए । निक्कै बेरको गफगाफले दिने लिने राजी खुसीको मोडमा कुरो टुङ्गियो । ट्यामट्याम्ती क्याँट गनेर बटार्दै खाली गोजीमा लुसुक घुसार्यो । खाली गोजी पैसाले भरिँदा उ मुस्कुरायो ।
'ओ दाई, चिया खाजा खुवाउँने होईन ?' रामकुमार टुप्लुक्क आइपुग्यो ।
'तँलाई जावो एककप चिया ख्वाउनपनि नाई भनुँला त ?' उसले काँधमा थप्थपाउँदै भन्यो।
'होईन दाइ मैले मजाक गर्या पो त' ।
'हा.... तेरो मज्जाक मैले बुझ्या छु । ल धेरै स्वाङ नपारी हिँड ।'
दुबै चिया पसलतिर सोझिए । रामकुमारको चुरीफुरी देखेर साहुजीले व्यङ्ग्य कस्यो 'भैंसी मानवीरेको बिक्नु । तँ पो निक्कै उच्चालिन्छस् त होउ गाँठे रामकुमार ?'
'तँ पाटे दोबाटे उट्पट्याङग कुरा गरेर धेरै मलाई न उडा है ! दिनभरी झिँगा मारेर बस्छस् । अनि बडो फुटनी हाँक्छस् । तेरो पनि त व्यापार भयो नी । ज्यादा बक बक नगरि चिया बना' उसले पनि साहुजीमाथि दह्रो प्रहार गर्यो ।
'सत्य बोल्ने त जमानै छैन बा !' साहुजी मौरी झैं भुनभुनाउदै गिलासमा चम्चा हल्लाउन तल्लिन भयो । उनीहरु दुईको हाँसी मज्जाकले पसलमा रौनक थपियो । ग्रहाकहरुका बन्द ओंठबाट पनि हाँसो फुत्कियो ।
'ए पाटे चिनी थप, केको बक बक गर्छस् !' रामकुमार चियाको चुस्की लिँदै करायो ।
'सित्तैमा पाए त जति पनि हसुर्छस् हगी ?'
'ला, तँ आफू खाएर हेर । एक थोप्पा चिनी लागेको भए मरिजाउँ ।' रामकुमार पनि के कम ? मुखैमा चियाको गिलास झोस्दै भन्यो ।
हा sssss... पाइपबाट पानीको फोहारा छुटे झैं अर्को चरणको हाँसो छुट्यो ।
चियाको पैसा चुकाएर मानवीरे मासु पसलतिर लम्कियो । भर्खर ढालेको खसीको ताजा मासु किन्नेको घुइँचो थियो । उ पनि लाममा लाग्यो । 'मलाई पहिला' भनेर चिच्याउनेहरूको आवाजले झर्को लगाएको छ । रपनि मासु नलगी भ'को छैन । एकठाउँ जडवत उभिँदा उभिँदै अल्छीको महसुस गर्यो । उसले लामो हाई काढ्यो । नजर उठाएर पश्चिमदिशा तर्फ नियाल्दा निलगिरीको डाँडोलाई पहेंलपुर पार्दै घाम बासस्थानतिर बढ्दै थियो । मानवीरेले घाम डुबेपछिको अँध्यारोलाई सम्झियो । उता डम्बरी मरमसला तयार पारेर मासु पकाउँन नपाएर पोक्चे गाला फुलाउँदै बसेको स्मरण पनि गर्यो । उसको मनमा जोडले चिसो स्वाँठ चल्यो ।
लाम लागेर अनेक सोचिरहेको उसको बल्लतल्ल पालो आयो । उसले दुई किलो मासु र एक किलो आन्द्राभूँडीमा कलेजो मिसाएर माग्यो । उ पैसा बुझाएर यता उता कतै नहेरी फटाफट अगाडि बढ्यो ।
संघारमा टेक्ने बित्तिकै कुकुरलेझैं स्वास्नीको ख्याउ ख्याउ सुरु भयो 'केटाकेटी भोकाएर मर्न लागिसके । यस बेलासम्म बजारमा के गरेर बस्यौ ? '
स्वास्नीको कच्कच स्वाभाविक लाग्यो उसलाई । एक थोप्पो नरिसाइ जवाफ दियो 'मासु पसलमा घुइँचो थियो । त्यहि भएर समय लाग्यो । ला ! अब नरिसाइकन प'का ।' लोग्नेको हातबाट झोला समातेर तातिरहेको कराइमा मासु ओहिरि स्वास्नीले ।
उ भने बहिनी भएतिर तेर्सियो । भान्जीलाई काखमा च्यापेर कपाल स्पर्श गर्दै सोध्यो-
'घरमा सप्पैलाई सञ्चै छ ? '
'राम्रो छ ' बहिनीले जवाफ फर्काइ ।
'भान्जी त दुब्लाइछन् । स्याहार पुर्याइनस की कसो ? '
'कामै पो के छ र ? भात भान्छा र यसको स्याहार गर्नुवाहेक ? दाँत आउन लाग्या छ । पातलो दिसा पनि गर्दै छ । त्यसैले हो ।'
दाजु बहिनीको भलाकुसारी चल्दै थियो । डम्बरीको आवाजले कोठानै जुरुक्क उच्चालियो ।
आवाज पछ्याउँदै सबै भान्छातिर छिरे ।
'यी फल मासु पिरो नराखी निकाल्दिएकी छु नानीलाई ।'
'ए भाउज्यु पर्ने थिएन छुट्टै निकालेर दुख गर्न । घरमा त बाउको काखमा बसेर एउटै थालमा सप्पासप खान्छे यसले ।'
खानपिनको कार्यक्रम सकियो । सपरिवार चोटामा उक्लिए । केटाकेटी भक्लाक भुक्लुक ओछ्यानमा लडे । जोइपोइ बहिनी मिलेर दु:ख सुख एक आपासमा साँटासाँट गरेर रमाए ।
रात निक्कै छिप्पिएपछी मानवीरे बोल्यो -
'अब सुत्नुपर्छ । केटी बहिनीलाई सुत्ने व्यवस्था मिलाइदिएर हिँड् सुत्न ।' लोग्नेका शब्दका मान राख्दै उसले नन्दलाई सुत्ने बन्दोबस्त मिलाई । त्यसपछि जोइपोइ ओछ्यानतिर लागे ।
उसले स्वास्नीको टाउको मुसार्दै कुरा थाल्यो- 'अँ साँच्ची आज बिहान तँलाई किन कतै नभा'को रिस उठेको हँ केटी ? '
'त्यो अझैं बिर्सिएका छैनौ तिमीले ? '
'कसरी बिर्सिन्थें तँ रिसाएका कुरा ? तेरो सबैथोक राम्रो । तर यो रिसाउने बानी साह्रै नराम्रो । कुनै कारण बेगरनै रिसाउँछेस् । हेर केटी अब त छोरा छोरी पनि बढे । अलि दिनमा हाम्रो घरमा पनि बुहारी ज्वाँई आउँछन् । पर पाउन थप्पिन्छन् । सधैं यस्तो रिसले कसैको फाईदा गर्दैन, बुझिस ? घरमा कलह भित्रिन्छ ।'
'त्यो त मलाई पनि थाहा छ । उसो भए किन रिसाउँछेस् त ? ल ! छिटो भन निन्द्राले मेरा आँखा बटारीसके ।'
'जानेर पनि के अञ्जान बन्छौ तिमी ?'
'बाबा ठाकुरे ! यो आइमाईलाई कसरी बुझाउँ ? जानेको भए चुपचाप सुत्थेँ नी । यो मध्यरातमा तँसँग गलफत्ती गरिबस्थें ?'
'ल सुन । कयौं पल्ट भने त्यो काब्रोको बोट ढाँल्दिउँ भनेर । वल्लो पल्लो घरका जे भा'का आइमाई आउँछन् । अचार खानलाई दुइचार वटा टिप्छु भनेर त्यहिँ बोटमा झुत्तो खेल्छन् ।
केटाकेटी त्यसै गर्छन् । बार भाँचेर हेर्नु नहुने पार्छन् । अरु त अरु गाईबाख्रा पसेरसमेत बिगार गरेछन् । भर्खर पसाएको केरा थिए दुईघरी । दशैंलाई भनेर साँचेको । त्यो पनि सोत्तर पारेर भुइँमा रैफाँडो बनाइदिएछन् । तिमी त बिहानै काममा हिँडिहाल्छौ। जे भा'को हैरानी र सास्ती त मैले न खप्नुपर्छ । एकदिन होईन । दुई दिन होईन । सधैं गोठालो लागेर साध्ये हुन्छ ? अनि कसलाई रिस उठ्दैन ?'
'तेरो रिस जायज छ । तर नरीसाइ पनि के गर्ने सल्लाह गर्न सकिन्छ नी । तँ खालि रुखै ढाल्ने कुरा गर्छेस । तेरि बहिनी जुनसरा आज हामीसँग शकुशल हुन्थि भने म तैंले भनेका कुरा स्विकार्थें । तर त्यही एउटा चिनु छ तिनको हातको । त्यसैले म रुख ढाल्नेबारे सहमत नभएको ।'
'ल अब जे हुनु भयो । अहिले सुतौं । भोलि म मान्छे खोजेर काँडेतारको बारले घेर्न लगाउँछु । अब त खुस ? '
'अँ' लोग्नेका कुरामा मञ्जुरी जनाई । र बलिरहेको टुकी निभाएर लोग्नेको छेउमा घुस्री उ ।
गीता थापा
0 comments:
Post a Comment