Home » » उडुस र साङ्गलाहरु

उडुस र साङ्गलाहरु

सम्प्रेषकः Anonymous | सम्प्रेषण मितिः Monday, September 13, 2010 | सम्प्रेषण समयः 7:15 PM

युग “योगी” राई
उर्लावारी–१, मोरङ्ग
हाल ः– दोहा कतार
प्रवास भरि छयाप्यै फैलिरहेछ
रोड भरि दौडि रहेछ
गाडीहरुमा यात्रा गरिरहेछ
एक मान्छेको जीउमा टाँसिएर
अर्को मान्छेको जीउमा सल्किरहेछ
एक क्यामवाट अरु क्यामहरुमा सरिरहेछ
ती उडुस र साङ्गलाहरु,
कति हिडेर पनि नगल्दा रहेछन्
कति दौडिएर पनि नथाग्दा रहेछन्
मानिसहरुको बन्द ढोकाहरुको कोठाहरुमा
कोही तास खेलिरहेको बेला
कोही टि भी हेरीरहेको बेला
ढोकाबाट चढेर
चाबी छिराउने प्वालवाट
भित्र चियाँउछन्
इसारा दिए पछि साङ्गलाहरुले
ढोकाको मुनिको चेपबाट
भित्र प्रवेश गर्छन् उडुसहरु
अनि
चाबी छिराउने प्वालबाटै
छिर्दछन् साङ्गलाहरु
यति गनाउने उडुसहरु
जीउभरि चिप्लो दलेर
भ्रम र आश्वासनको
अत्तर र पफ्र्युम छरेर
एसीको वासी हावाले
गुम्सिएको कोठाहरुलाई
एक क्षण त मग्मगाई दिन्छन् ।
हेरिरहेको टिभीको स्क्रीनमा टाँसिएर
मान्छेको खुन चुसेर
ढाडिएको पेटहरुबाट
खुन उगालेर
खुनको मसी बनाएर
चुच्चा मुखहरुले
टि.भी.को गाँँउमा यु.टी. लेख्छन्
खेलिरहेको तासहरुमा टांसिएर
एक्का “ए” को ठांउमा “डी” लेख्छन्
यसरी केहि उडुसहरु
ल्यापटपको स्क्रीनलाई सीलोट वनाएर लेखिरहन्छन्
हामी पढिरहन्छौ
बाकि उडुसहरु
हाम्रो छालामा टासिएर
डसि रहेका हुन्छन्
खुन चुसिरहेका हुन्छन्
तर बढी मांशाहारी
उडुसहरुको कुरा के गर्नु
यहां शाकाहारी साधु साङ्गलेहरु पनि
हामे दराजको कुना कुनामा छिरेर
मनी पर्सको भित्र पसेर
रियालहरुको नम्बरहरु
मेटिने गरी दिसा गर्छन्
नम्बरै मेटिए पछि
पैसाहरु नै नचले पछि
मकैको खास्टा र कागज
भन्नुमा के फरक परयो र ।
अनि म ती रियालको खोस्टे कागजहरुलाई
जानी जानी
अल्खोर या होमसाइट
या त सिटी सेन्टरमा गएर
समुन्द्रको किनारमा वसेर
साना साना नौका बनाएर
बगाएर
रमिता हेर्छु ,
साङ्गलेहरु , उडुसहरु
त्यहि नौकाहरुमा चढेर
समुन्द्र तरेर
कहाँ कहाँ पुग्छन्
हामीलाई फेरि
अरु साङ्गले र उडुसहरुले सताउन थाल्छन्
यहाँ साङ्गले र उडुसको
औषधी दिने मानिसहरु नै
उल्टै साङ्गले र उडुस पाल्न थाले पछि
कसको के लाग्छ ?
त्यसैले त यहां
यो प्रवाशमा
उडुस र साङ्गलेहरु फैलिई रहन्छन् ।

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment