Home » » बाटो बिराएका प्रवासी पाइलाहरु

बाटो बिराएका प्रवासी पाइलाहरु

सम्प्रेषकः रामबहादुर गुरुङ ‘सर्वत्रापमानित’ | सम्प्रेषण मितिः Saturday, January 29, 2011 | सम्प्रेषण समयः 11:38 PM

पूर्ण बेघा
इलाम, हालः कतार
त्यो बेला देश छाडेर पैसाकै लागि विदेश जाने मन त थिएन तर म विदेशिनुमा धेरै कारणहरु थिए । जसमध्ये गरीबी र वेरोजगारी नै प्रमुख कारण थिए । त्यति बेलाको समयमा भने जस्तै काम पाए पनि काम अनुसारको दाम त पाइएन । तर पनि काम गर्न बाध्य थिएँ । यसरी विदेश बसाईंकै क्रममा आफ्नो आउने जाने क्रम पनि दूई पटक भयो । म विदेशमा रहे पनि आफ्नो देशको बारेमा सधैं चिन्तन गरिरहने देशको प्रगति चाहने मान्छे थिएँ । सञ्चारको असोचनीय विकाससँगै आफ्नो देशको गतिविधि सहज रुपमा सञ्चार माध्यममार्फत थाह हुन्थ्यो । यस्तै क्रममा विदेशमा रहेर नोकरी गर्ने कार्य पनि देशको एउटा उद्योगकै रुपमा विकसित हुन थालेछ । देशको कुल ग्राहस्थ उत्पादनमा ३०% हिस्सा विदेशमा रहेर काम गर्नेहरुले पठाएको रकमबाट पूर्ति हुने समाचारहरु सुन्नमा, देख्नमा आउँथ्यो र त्यो यथार्थ पनि थियो । त्यसैले होला, मलाई गर्व लाग्थ्यो कि म विदेशमै रहेर पनि देशको लागि केही गरिरहेको छु ।
त्यसरी विदेश बसाईंकै क्रममा मैले धेरै विदेशी मित्रहरु बनाएको थिएँ । त्यसमा पनि चाइनिज र कोरियनहरु मेरा अन्तरंग मित्रहरु थिए । हामीमा जहिल्यै पनि आ–आफ्नो देशको बारेमा वहस र छलफल हुन्थ्यो । सबैजना आफ्नै देश नै राम्रो भन्ने विषयमा वादविवाद चलिरहन्थ्यो । यसबीचमा म सधैं मेरो देश प्राकृतिक रुपमा धनी भएको प्रसंग निकालेर अलि पेल्ने पनि गर्थें । यो कुरामा उनीहरु सहमत हुन्थे र उनीहरुले जहिले पनि हाम्रो देशलाई राजनीतिक रुपमा कमजोर भएको कुरा थुपारिदिन्थे । यो कटु सत्यलाई म पनि स्वीकार्थें । किनकी म पनि त्यही राजनीतिक अदूरदर्शिताका कारण विदेशिएको थिएँ । त्यसैले म आफ्नो देश प्राकृतिक रुपमा धनी भएर पनि गरीब हुनुको पीडा पोख्थें । हो, मित्र यही त दुःख लाग्दो विषय छ, उनीहरु भन्ने गर्थे, आज लाखौं नेपालीहरु विश्वको जुनसुकै कुनामा पुगेर पनि कठोर श्रम पोखिरहेका छन् । तर नेपालको आर्थिक क्षेत्रको सुधार हुनुपर्ने ठाउँमा झन समस्या थोपरिरहेको छ । यसका सब कारणहरु तिमी नेपालीहरु नै हौ । किनकी तिमीहरुसँग राष्ट्रिय राजनीतिक ज्ञान कम छ । तिमीहरु सबैले राजनीतिक ज्ञान लिन आवश्यक छ । राजनीतिको शब्द सुन्ने वित्तिकै कान दुख्ने मान्छे म अन्तरंग मित्रले नै यसो भनिरहँदा रीस सहिनसक्नु हुनु स्वाभाविक हो । तर पनि सम्हालिएँ ।

एकछिन विचार गरेर ती मित्रहरुलाई गाली गर्दै भने, मित्रहरु यो राजनीति पढाउने कोशिष नगर । यही बिग्रेको राजनीतिले गर्दा त हामी यसरी विदेशिन वाध्य भएका हौं । त्यसैले यसको बारेमा मलाई केही बुझ्नु छैन । यसले अझै पनि वेरोजगार जन्माउदैछ, मेरो देशमा । मेरो चित्कारमा गम्भीरता देखाउँदै उसले साम्य पार्दै भन्यो, .....मित्र, जुन राष्ट्रका नागरिकहरु राजनीतिक ज्ञान पाएका हुदैनन्, त्यो राष्ट्रका नागरिकहरुले सधैं दुःख पाइरहन्छन् र अवसरवादीहरुले सधैं दुःख दिइरहन्छन् । त्यसैको शिकार हौ, तिमीहरु । तिमीहरुले कहिल्यै राजनीतिलाई बुझ्ने प्रयास गरेनौ । राजनीति शब्द सुन्ने वित्तिकै भाग्न मात्र खोज्यौ । राजनीतिले जनतालाई चिन्दैन, जनताले राजनीति चिन्नुपर्छ । राजनीति आफैमा नराम्रो होइन, यसलाई नराम्रो बनाउनेहरुचाहिं नराम्रा हुन् र ती नराम्रा मान्छेले नै देश पनि नराम्रो बनाउँछन् र त्यो देशका जनताहरुले सधैं दुःख पाउँछन् । देशलाई राम्रो बनाउन राम्रो राजनीति आवश्यक छ । यही राजनीतिक ज्ञानको अभावले आज धेरै नेपालीहरु विदेश रहेर पनि उन्नति गर्न सकिरहेका छैनन् । यसको मतलव यो हो कि,  नेपालीहरु राजनीतिक अज्ञानताकै कारण देशभक्त र देश प्रेमी छैनन् । देशबाट टाढा भएपछि बारम्बार देशलाई सम्झेर, देशको समकालीन समस्याहरु मात्र समाधान गरेर, राष्ट्रिय गान मात्र गाएर, राष्ट्रिय पोशाक मात्र लाएर, देशको राष्ट्रिय भाषा मात्र बोलेर राष्ट्रप्रेमी र देशभक्त भइदैन प्रवासीहरु । देशभक्त र देशप्रेमी त तिनीहरु हुन्, जसले देशको वर्तमान, समकालीन र दीर्घकालीन समस्याहरु हल गर्न नीति नियम र परम्पराको शुरुवात गर्छन् र प्रोत्साहन गर्छन् । साथै अग्रसर हुन्छन् । जसले देशको राष्ट्रियता, सार्वभौमिकता, स्वतन्त्रता, सुरक्षा र विकासको सुनामी ल्याइरहेको हुन्छ । त्यो एउटा विशुद्ध राजनीतिक सिद्धान्त र मार्ग हो, जुन सम्पूर्ण नेपालीहरुले बुझ्नु अत्यावश्यक छ ।
त्यो मित्रको कुराहरु सुनेर म धेरै बेर मौन बसें । होइन यसले के भन्दैछ ? धेरै बेर सोचें । अहँ, चित्त नबुझेपछि मैले फेरि प्रश्न गरें ....होइन, विदेशमा बस्ने नेपालीले के चाहिं गरेका छैनन् ? सबै गरिरहेकै छौं । हाम्रो देश र परिवारको निम्ति हामीले पठाएको रकम (रेमिट्यान्स) ले देशको अर्थतन्त्र धानिरहेको छ । गल्ती के गरिरहेका छौं त ? यो भन्दा देशलाई कति मायाँ गर्ने र कति देशभक्त हुने ? के हामी विदेशमा रहनु नै गल्ती हो र ? के कारणले हामी देशप्रेमी र देशभक्त हुन सकेका छैनौं ? मेरो प्रश्नहरु भूईंमा खस्न नपाउँदै ऊ बोल्न थाल्यो– ...मित्र, तिमीहरु यहाँ आएपछि दूइपटक घर छुट्टी गयौ । तिमीजस्तै छुट्टी जाने नेपाली मैले धेरै देखेको छु । महङ्गा सरसामान उधुम भारी कसेर लाग्छौ । आफ्नो देशतिर तिमीहरुले कहिल्यै सोचेका छौ ? त्यो सामान कहाँबाट कहाँ लाँदैछौ ? ती सामानहरु कम्तीमा हजार डलरभन्दा माथिका थिए र हुन्छन् । के ती सामानहरु सबै नेपालमा पाइदैनन् र ? के नेपालमै किन्दा हुँदैन र ? तर तिम्रा नेपालीहरु खाली विदेशी पसलहरु, ब्यापारीहरु र विदेशी सरकार उकासिरहेका हुन्छौ । अनि तिनै देशमा तिनै पसलहरुमा, तिनै ब्यापारीहरुकोमा बाजे, बुवा, छोरा, नातिसम्म काम गरिरहेका हुन्छौं । तिमीहरु पैसाले तिमीहरु नै सधैं नोकर बनिरहेका हुन्छौ । तिम्रो देशको उद्योग, ब्यापार पसल चलाएर बस्नेहरुको सामान कहिल्यै नबिकेपछि, सबै सामान विदेशबाट लिएर हिडेपछि, कमाएको पैसा कमाएकै देशमा चढाएर हिडेपछि तिमीहरुले पाएको रोजगारीको अर्थ नै के भयो र ? जुन देशमा कमायौ, त्यही देशमा सक्यौ, त्यही देश बनायौ, देशमा लगभग खाली हात गयौ । अनि तिम्रो देशमा खोलिएका उद्योग, पसलहरु पनि बन्द गर्न बाध्य भए । उद्योगी र त्यहाँ काम गर्ने हजारौं मजदूरहरु फेरि बेरोजगारीको विल्ला भिर्दै नै सपिङ्ग गरेको नाफाले फेरि अरु नेपालीहरु तानिरहेछ विदेशले । तर तिमीहरुको देश तिमीहरु नै बिगारिरहेछौ । तिमीहरुले नै देशमा बेरोजगारी जन्माइरहेका छौ । तिमीहरुलाई कसरी देशभक्त र देशप्रेमी भन्ने ? र आजभोलि मोबाइलको जमाना छ । तिमीहरु साह्रै सौखिन मान्छे ! मोबाइल नबोक्ने मान्छे भेट्टाउन गाह्रो भएको समयमा मलाई लाग्छ, औंलामा गन्न सकिने नेपालीको मोबाइलमा मात्र नेपालबाट फोन आउँछ  । जबकि, लाखौं नेपालीहरु विदेशमा छौं । विदेशबाटै फोन गर्नुपर्ने नियम पनि संशोधन गर्न नसकिने अघोषित नियम पनि छ तिमीहरुको । जसले गर्दा विदेशी टेलिकमहरुले कति नाफा कमायो होला ? तिमीहरुको देशको टेलिकमले त कुनै दिन घाटाले थिचेर बन्द भएको समाचार पनि आउनसक्छ । यी सबै राजनीतिक अज्ञानता र राष्ट्रवादको अर्थ नबुझ्नुका कारणहरु हुन् । त्यसैले सम्पूर्ण नेपालीले राजनीतिक ज्ञान लिन आवश्यक छ । त्यसले मात्र सम्पूर्ण नेपालीलाई राष्ट्रप्रति समर्पित हुन भूमिका खेल्नेछ र राष्ट्रियता र राष्ट्रप्रति सम्पूर्ण जनता समर्पित भएपछि नेपालको बेरोजगारी समस्या हल हुन धेरै समय कुरिरहनु पर्दैन । किनकि, प्रकृतिले दिएका धेरै उपहारहरु नेपालमा छन् । जसको सही रुपमा सदुपयोग र परिचालन गर्ने हो भने कुनै पनि नेपाली विदेश गइरहनु पर्दैन । उल्टै विदेशीहरु नेपालमा रोजगार खोज्दै आउनुपर्छ ।
त्यतिबेला ती मित्रका कुराहरु एउटा कानले सुनेजस्तो गरेर अर्को कानले उडाइदिएँ । काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भनेझैं उनीहरु सधैं मलाई सम्झाईरन्थे । म आफ्नै चालमा हिडिरहन्थें । समयहरु बित्दै गयो, दिन, रात, महिना हुँदै वर्ष बितेछ । मैले पनि प्रवासी जीवन समाप्त पार्ने हिसाबले १० बर्षको प्रवासको बसाईं गर्दै स्वदेश फर्कने निर्णय गरें । स्वदेश फर्कने दिन पनि नजिक हुँदै आयो । म किनमेलमा ब्यस्त हुन्थें । मलार्य ती साथीहरुले भनेको कुराले एकछेउ पनि छोएको थिएन । किनकि पैसा मेरो, मेरै खुशी भन्ने घमण्ड थियो त्यो बेला । अनि सामानको पोको बोकेर स्वदेश आइपुगें । मलाई काठमाण्डौं आइपुग्दै अलिक अनौठो अनुभव भैरहेको थियो । त्यहाँ भेटेका मान्छे जति सबै विदेश जाने चक्करमा भौंतारिरहेका थिए । केही दिनको बसाईंपछि गाउँ पुगियो । यसो गाउँघरतिर घुम्न निस्कियो,  साथीभाई कोही नभेटिने, कता गए भनेर सोध्दा सबै विदेश भन्ने उत्तर पाइन्थ्यो । अनि नजिकै यसो हाट बजार निस्कें । त्यहाँ छ्याङ्ग बेच्ने नाना, लिम्बुनी युमा, युमाका सहयोगी, सोल्टिनी, कान्छीहरु, मैच्याङ्गहरु कोही पनि देखिन । साना–साना टिभी सोरुमहरु, कपडा पसल खोलेर बसेका वल्लो–पल्लो गाउँका उत्साही युवाहरुको पसल पनि बन्द थिए, केही ठूला पसल, भण्डारहरु पनि बन्द थिए । त्यहाँ काम गर्ने, साने, ठूले झिल्की, सोमबारी, नक्कली, कान्छीहरु पनि मुग्लान लागे भन्ने खबर पाएँ । बजारमा फाट्टफुट्ट पसल अनि १४ वर्ष ननाघेका ६० काटेका वृद्ध–वृद्धाहरुलाई सोधें– किन यी पसलहरु बन्द ? किन सबै यसरी विदेश लागेका ? उनीहरु गर्व र खुशीका साथ भनिरहेका थिए, सबै सामान विदेशबाट आउन थालेपछि यहाँ कसले किन्ने सामान ? त्यसैले बन्द भए पसलहरु । अनि उनीहरु पनि लागे विदेशतिर । अब अहिले सञ्चो छ, सबै सामान छोरा, छोरीले दिदीले, भाईले, ज्वाँईले, ससुराले, आमाले विदेशबाट पठाइ हाल्छ । यहाँ केलाई पसलहरु, केलाई ब्यापार ? एक किसिमले निरास भएर घर फर्कें, त्यो दिन । अनि केही दिनपछि तल बेंशीतिर घुम्न निस्कें । तल बेंशीका सबै आकुरे वाकुरे पनि विदेश लागेछन् । घरमा मान्छे भेट्न मुश्किल । गाई गोठहरु खाली थिए । धेरै जसोका गोठमा बिग्रिएका मोटरसाईकलहरु थन्काइएका थिए । गाउँमा घरैपिच्छे विदेशबाट ल्यार्ईएका २१ इन्चभन्दा ठूला टिभीहरु जडान गरिएका रहेछन् । बालीनाली लाउन ब्यस्त किसानहरु टिभीको कार्यक्रमहरु हेर्नमै ब्यस्त रहेछन् । खेत, टारीहरु बाँझै थिए । कति उर्वर भूमिहरुमा त्यसै त्यसै केटाकेटीहरु फुटबल खेलिरहेका थिए । अनि बालीनाली किन नलाएको ? भन्दा उनीहरु भन्थे, खेतमा पाकेको भन्दा राम्रो मन्सुली, वास्मती, इण्डियन, चाइनिज चामल सस्तोमा आइहाल्छ । छोराहरु विदेशमा छन् । कसले जोत्ने ? पैसा पठाइहाल्छन् क्यारे, खान खाँचो भएको छैन । केलाई खेती किसानी गर्ने ? यहाँ त अहिले यस्तै चलन पो छ त ।
त्यतिबेलासम्ममा मेरो गाउँघर त साँच्चै नै नुनविनाको सब्जीजस्तै खल्लो भैसकेको रहेछ । अनि त्यतिबेला मात्र महशुुश भयो, प्रवासीले गर्ने भूलहरु र त्यो विदेशी अन्तरङ्गी मित्रहरुले भनेका कुराहरु, ‘तिमीहरुलाई कसरी राष्ट्रवादी र देशप्रेमी भन्ने ?’ हो, हामी प्रवासीहरुले नै देश बिगारिरहेका रहेछौं । विदेशी सामानहरु भित््रयाएर विदेशी ब्यापारीहरु उकासेर, विदेशी पसलहरु उकासेर हाम्रो देशको माटो बाँझो बनाइरहेका रहेछौं, हाम्रो देशका उद्योग धन्दाहरु बन्द गराइरहेका रहेछौं । हाम्रा देशका ब्यापारीहरु विस्थापित गराइरहेका रहेछौं । अनि हामीले नै वेरोजगार जन्माइरहेछौं । यो कुरा केही महिना पछाडि नै प्रमाणित त भएको थियो । बर्षाको कारणले हाम्रो गाउँ आउने मोटर बाटोमा पहिरो गएर लामो समय सवारी आवागमन ठप्प भएको थियो । त्यतिबेला कसैको गोठमा लैनो भैंसी, लैनो गाई थिएन, कति दिन फिक्का चिया पिउनु परेको थियो । अनि कसैको ढुकुटीमा एक गेडा धान पनि थिएन । कति दिन भोकै बस्नु परेको थियो । दशैं तिहार पनि कुइचिएको इण्डियन, चाइनिज वासमती नामको चामल नाबालक र वृद्धहरुलाई बोकाएर खाइएको थियो । के गर्ने मन्सुली, बेलखुट्टी, धान फल्ने टारी खेतहरुमा धान वाली नलाएपछि यस्तै नियति भोग्नु पर्दोरहेछ । त्यसैले त्यो बेला मैले प्रवासमा रहेका सबै प्रवासी मित्रहरुलाई राष्ट्रवादी र राष्ट्रप्रेमी बन्न सार्वजनिक रुपमै यो कथा ब्यथा सुनाउदै अपिल गरेको थिएँ । खै, प्रवासी मित्रहरुले बिर्सनुभएको हो कि मेरो भनाई नपत्याउनु भएको हो । हेर्दा हेर्दै मेरो देश त परजीवी जीव जस्तै पूरै परदेशजीवी देश भैसकेछ । मैले देख्दा जान्दासम्म प्रवासी पाइलाहरु प्रवासकै ब्यापारी पसलहरुमा घुमिरहेका थिए । आज पनि सायद उतै होलान् । होइन भने किन स्वदेशी पसल बन्द हुन्थ्यो र ? अनि किन विदेशी ब्यापारीहरु नै मालिक बन्थे र ? अनि स्वदेशी ब्यापारी, उद्योगी कंगाल बनेर र त्यो ब्यापारी उद्योगीको काम गर्ने मजदुरहरु पनि बेरोेजगारीको विल्ला भिर्दै तिनै प्रवासी नेपालीले किनमेल गरेको नाफाले महासेंठ (शेख) भएको अर्बपति, भूपतिका दास हुनुपथ्र्यो र ? आज कपाल फुलेका हजुरबा, बुवा, छोरा, नातिसमेत विदेश गइरहेका छौं । मैले बुझ्न सकिन, यी प्रवासी पाइलाहरु किन बाटो बिराइरहेका छन् ? किन देशप्रेम र राष्ट्रवाद भुलिरहेका छन् ? अनि किन बेरोजगारहरु जन्माइरहेका छन् ?

संप्रेषण बाँड्नुहोस् :

0 comments:

Post a Comment