आरती रची सुनुवार
आफ्नै साथमा घुम्न हिँडेको छोरो रोहन हराउँदा रोहनको बाबा आमालाई ठूलो समस्या र चिन्ता पर्छ । उनीहरू रोहनलाई बजारमा दिनभरि खोजी गर्छन् र नभेटेपछि घर फर्कन्छन् ।
रोहनको आमा रुँदै घरमा बसिन् । बाबाचाहिँ छोरा हरायो भनेर प्रहरीकहाँ रिपोर्ट गर्न गए ।
हराएको रोहन पनि बाबा र आमालाई खोज्दै खोज्दै धेरै टाढा पुगेछ । अँत्तालिँदै, लुरुलुरु एकोहोरो हिँड्दै गर्दा उसँग एकजना मान्छे ठोक्किन पुग्यो । त्यो मान्छेको छडि भुइँमा खस्छ । रोहन धेरै डराउँछ अब यो मान्छेले गाली गर्छ होला भनेर । तर त्यो मान्छेले गाली नगरी सरी भन्दै भुइँमा छामेर छडि खोज्न थाल्यो । उसले छडि भेट्टाउन सकेन । रोहणले छडि टिपेर दिँदै सोध्यो, ‘अंकल तपाईँले आँखा देख्नु हुन्न हो ?’
‘हो बाबु ! म आँखा देख्दिन, दृष्टिविहिन हुँ म’ छडि छाम्दै त्यस मान्छेले भन्यो ।
त्यसपछि उनीहरूबीच परिचय आदि हुन थाल्यो ।
‘बाबु त सानो र कति ज्ञानी मान्छे पो रहेछौ । अरूले त छडि टिपेर दिदैनन् । सबै आफ्नै हतारमा हुन्छन् । धन्यवाद बाबु ! तिम्रो नाम के हो ? अनि कति वर्ष भयौ ?’
‘नौ वर्ष । अनि नामचाहिँ रोहन हो ।’
‘तिमी यहाँ अरू कोसँग छौ ?’
‘म एक्लै छु । अघि बजारबाट म हराएँ । त्यही भएर बाबा आमालाई खोजेको खोज्यै छु । कतै पनि भेटिन ।’
‘हराएको रे ? अनि अरू कसैलाई भनेनौ ?’
‘अहँ भनिन् ।’
‘किन नभनेको त रोहन यस्तो कुरा ।’
‘किनकि आमाले भन्नुभएको थियो नचिनेको कोही मान्छेसँग नबोल्नु, उनीहरूले नराम्रो पनि गर्न सक्छन् भनेर । त्यसैले भन्नै डर लाग्यो । मेरो मामाको छोरालाई पनि नचिनेको मान्छेले लगेर धेरै दिनपछि फिर्ता गरे । त्यही भएर कसैलाई भनिन । तपाईँले त आँखा नदेख्नु हुँदो रहेछ, त्यसैले भनेको । अनि तपाईँको नामचाहिँ के हो ?’
‘ए मेरो नाम रोशन हो । नाम त झण्डै उस्तै छ है ?’ (हाँस्दै) अनि रोहन ! मान्छेलाई भन्न डराए पनि पुलिस अंकललाई चाहिँ भन्नुपर्छ है आफ्नो समस्या । नभए घर कसरी पुग्ने त ? फेरि सबै मामाको छोरा लानेजस्तै बदमाश मान्छे पनि त हुँदैनन् नि । यसरी धेरै डराउनु पर्दैन । ल भन त तिम्रो घर कहाँ हो ?’
‘बानेश्वर’
‘यदि मैले बानेश्वर पु¥याएँ भने पुग्न सक्छौ त ?’
‘अँ सक्छु चोकबाट त । चोक नजिकै पर्छ हाम्रो घर । तर म बानेश्वर कसरी जाने त बाटो नै चिन्दिन ।’
‘म लान्छु नि । म पनि त्यतैबाट शंखमुल जानु छ ।’
‘रोशन अंकल ! तपाईँले बाटो कसरी देख्नुहुन्छ त ?’
‘अँ मैले भित्री आँखाबाट देखिहाल्छु नि । यी यो छडिले छाम्दै बाटो पत्ता लाउँछु क्या । यसरी नै कत्ति हिँडिसकेको छु नि । हिँडेरै जहाँ पनि पुग्न सक्छु । अनि यो शहरको सबै ठाउँ चिन्छु पनि । ल आऊ मेरो बाँया हात समात । तिम्रो सहायताले त झन् म पनि छिट्टै पुग्छु ।’
यसरी दुवैजना कुरा गर्दै हिँड्छन् । रोहन पनि रोशनलाई भेटेर ढुक्क थियो । केहीछिन् पछि दुवैजना बानेश्वर चोकमा आइपुग्छन् ।
रोहन खुशी हुँदै भन्छ, ‘अंकल ! अब मैले बाटो चिने, यतैबाट, ऊ यही गल्लीबाट मेरो घर जाने बाटो हो ।’
‘अब तिम्रो बाबा आमा कति धेरै खुशी मान्नु हुन्छ है तिमीलाई पाएर । अनि अबदेखि बजार जाँदा बाबा आमाको हात नछोड्नु है । अघि भनेको के रे ! तिमी कसरी छुट्यौ रे.. सुपरम्यानको रोबोट हेरेर बस्दा हराएको हैन, झण्डै तिमी नै सुपरम्यान भएछौ । अबदेखि विचार पु¥याउनु है’ भनेर रोशनले हाँस्दै भन्यो ।
दुवैजना रोहनको घरको गेटमा पुग्छन् । गेटमा पुगेर रोहनले ‘आमाऽऽ’ भनेर चिच्याउँदा आमा कोठाबाट खुशी हुँदै, अँत्तालिँदै ‘मेरो छोराऽऽ’ भन्दै बाहिर आइन् र रोहनलाई अंकमाल गरेर रोइन् ।
अनि रोशनले ‘दिदी ! बजार जाँदा बच्चाहरूको राम्रो ख्याल गर्नुपर्छ । धन्न मलाई भेट्यो अनि मात्र । ऊ त फेरि अरूलाई भन्न पनि डराउने रहेछ । मसँग नठोक्किएको भए मैले पनि कहाँ थाहा पाउने थिएँ । ठिकै छ, सही सलामत छोरा घरमा आइपुग्यो । अब चिन्ता गर्नु पर्दैन । म अब जाउँ है’ भनेर बिदा माग्यो ।
अनि रोहनको आमाले भनिन्, ‘हैन भाइ ! चिया, खाजा खाएर जानुहोला । भगवान्जस्तै भएर हाम्रो मद्दत गर्नुभयो । तपाईँलाई धेरै धेरै धन्यवाद ।’
रोशनले आफुले घरमा अलि चाँढै पुग्नुपर्ने कुरा बतायो र ऊ गेटबाटै घर फर्केर गयो ।
रोहनको आमाले श्रीमान्लाई फोन गरेर छोरा घरमा आइपुगेको र एकजना मान्छेले ल्याइपु¥याएको खुशीको कुरा सुनाइन् र चाँढै घर आउनु भनिन् । रोहनको बाबा पनि खुशीले हतार हतार घर फर्किदै थियो ।
सडकको छेउबाट रोशन पनि बाटो काट्नको लागि उभिएको थियो । त्यहीबेला रोहनको बाबासँग ठोक्किएर दुवैजना लडे । अनि रोहनको बाबाले रिसाउँदै ‘ए केटा, आँखा देख्दैनस् । मान्छेलाई बाटो छोड्नुपर्छ, पर्दैन हँ?’ भन्दै गाली ग¥यो र हातले हुत्याउँदै निहु खोज्न थाल्यो । उसले फेरि भन्न थाल्यो, ‘आज त मेरो दशा नै रहेछ । बल्ल बल्ल खुशीको खबर पाउँदा पनि आफै लड्नु पो प¥यो ।’
रोशनले माफी माग्दै भन्यो, ‘दाइ ! साँच्चै म दृष्टिविहिन हुँ, मेरो लाग्दा तपाईँलाई दुख भयो है ।’
‘ए हो त रहेछ नि अन्धा । अन्धा भएपछि त छेउछेउमा बस्नुपर्दैन ?’ भनेर रोहनको बाबाले उल्टै गाली पो ग¥यो ।
यस्तो सुनेर नजिकै उभिएकी एकजना केटीलाई रोहनको बाबासँग एकदम रिस उठ्यो । यसरी दृष्टिविहिनलाई हेपेको देखेर उनले रोहनको बाबालाई गाली गर्दै भनिन्, ‘अंकल, तपाईँ कस्तो बेवकुफ मान्छे । तपाईँजस्तो सपांग मान्छेले यस्तो गाली गर्ने ? जुन मान्छे दृष्टिविहिन छ उसैलाई ! तपाईँको संसार देख्न सक्ने आँखा भएर पनि तपाईँले नै उहाँलाई लडाउनुभयो र अहिले उहाँलाई नै गाली गर्दै हुनुहुन्छ ? हेर्नुस् त यो सेतो छडि, देख्नुभएन ? यो छडि दृष्टिविहिनले प्रयोग गर्ने साधन हो । यस्तो छडि बोक्नेलाई सहयोग गर्नुपर्छ, बाटो छाडिदिनुपर्छ, गाडी रोकी दिनुपर्छ । मद्दत मागेमा सबै सपांग व्यक्तिले सहयोग गर्नुपर्छ । त्यो नै सबैको कर्तव्य हो भनेर पनि बुझ्नु भा’छैन रहेछ । यस्तो कुरा त स्कुल, कलेज, संचार माध्यमबाट सिकाइ राखेका छन् नि । अनि यो त आफैले पनि बुझ्नुपर्ने कुरा हो ।’ यति भन्दै एकछिन् उनी चुप लागिन् ।
उनले फेरि भनिन्, ‘अनि सुन्नुस् ! एउटा असल र सभ्य मान्छे भएपछि मान्छेले मान्छेलाई सम्मानयोग्य शब्दले सम्बोधन गर्नुपर्छ । आँखा देख्दैन भन्दैमा अन्धा भन्नुहुँदैन, दृष्टिविहिन भन्नुपर्छ । तपाईँले पनि आँखा देख्छ भनेर उसो भए आँख्ले भन्नु ? के त्यो सभ्य कुरा हो । हो, त्यसैले सभ्य शब्द प्रयोग गर्नुपर्छ जसलाई पनि, बुझ्नुभो !’
रोहनको बाबालाई सानी केटीले भनेको कुरा मनमा झट्का त लाग्यो तर आफु ठुलो बन्नलाई भन्न थाल्यो, ‘भो भो नानी ! तिमी धेरै दयालु रहेछौ अर्काको दया गर्ने । कत्तिलाई दया गरेर साध्य हुन्छ । हेर न ! मलाई चोट लागेर पो भनेको नि । त्यसै म पनि किन गाली गर्छु र ?’
ती केटीले भनिन्, ‘होइन अंकल ! मैले कुनै दया माया गरेर भनेको होइन् । उहाँ आफै सक्षम हुनुहुन्छ । मैले किन दया गर्ने । सबैमा सक्षमता लुकेको हुन्छ । उहाँजस्ता दृष्टिविहिन अपांग, दुखी, गरीबलाई कमजोरीको नजरमा दया गर्नुभनेको नै उहाँहरूको आत्मसम्मानमा चोट पु¥याउनु हो, उहाँहरूको मनोबल घटाइनु हो । त्यसैले हामीले दयाले होइन, मान्छेको कर्तव्यले सहयोग गर्नुपर्छ । उहाँहरूलाई बाटो छाडिदिने, मद्दत माग्दा मद्दत गर्ने, नहेप्ने, हामी सपांगजस्तै व्यवहार गर्ने, यस्ता हौसला, अवसर दिएर सहयोग गर्नुपर्छ । एउटा मान्छेले मान्छेलाई गर्नुपर्ने असल कर्तव्य निभाउनु पो भन्न खोजेको मैले ।’
रोहनको बाबा यो सुनेर केही पनि बोलेनन् ।
अनि ती केटीले रोशनलाई साथ दिँदै भनिन्, ‘माफ गर्नुहोला दाइ उहाँको गल्तीलाई, बरु तपाईँलाई पारी पु¥याउनुपर्छ भने म पारी पु¥याइदिन्छु ।’
रोशनले भन्यो, ‘धन्यवाद बहिनी ! माफी माग्नु पर्दैन । मलाई कुनै दुख लागेको छैन । म त एकदम खुशी छु किनकि आज रोहनजस्तो मासुम भाइ र तपाईँजस्तो बहिनीसँग भेट्नु र यत्ति कुरा गर्न पाउनुलाई नै यो अवसर मिलेको ठाने । पारी म आफै जान सक्छु, सोध्नुभएकोमा फेरि धन्यवाद ।’ यति भन्दै रोशन सेतो छडिले भुइँमा ठ्याक ठ्याक ठट्याउँदै आफ्नो गन्तव्यमा लाग्यो ।
रोहनको बाबाको मनमा भएको खुशी बिस्तारै अमिलिँदै गयो । मनमा कतै लाज, पश्चातापजस्तै केही कुरा लुकेको जस्तो भएर मन भारी भयो । घरमा पुग्नासाथ छोरा रोहन ‘बाबाऽऽ’ भनेर गला मिल्यो र रोयो पनि । बाबाले फकाएपछि रोहनले रोशनको कुरा ग¥यो । उसको आमाले पनि रोशनले घरमा ल्याइपु¥याएको कुरा गर्दै उहाँ आँखा नदेख्ने भएर पनि छोरालाई घरमा ल्याइपु¥याउनुभयो भन्दा रोहनको बाबाले झसंग झस्किदै सोध्यो, ‘आँखा नदेख्ने अन्धाले... ओऽऽ सरी ! दृष्टिविहिनले ! के उसले कालोकोट लगाएको छ ?’
रोहनले भन्यो, ‘हो त ! कसरी थाहा पाउनुभयो बाबा ?’
रोहनको बाबाले बाटोमा भएको सबै घटना सम्झ्यो र रोशनले रोहन भाइ भनेको पनि याद ग¥यो । रोशनले गर्दा नै आफ्नो छोरा सजिलै भेटेको कुरा पनि थाहा पायो । तर आफुले गरेको गल्तीको कारणले उसलाई मनमा शान्ति मिलेन । कति दिन रोशन आउँछ कि भनेर त्यो बाटोमा बस्यो । तर उसले रोशनलाई कहिल्यै भेटेन । बरु थुप्रै अन्य दृष्टिविहिनहरूलाई देख्यो र उनीहरूलाई नै रोशन सम्झेर चित्त बुझायो ।
aratirachi@gmail.com
0 comments:
Post a Comment